स्थानीय तहको निर्वाचन पश्चात् बूढानीलकण्ठ नगरपालिका वडा नं, १३ को वडा अध्यक्ष पदमा अत्यधिक बहुमतले बिजयी भएका सशक्त युवा नेता तथा चुनिखेल सांस्कृती संरक्षण अभियानका मुख्य अभियन्ता हुन् टिकेश नारायण श्रेष्ठ । आफ्नो टोल, समाजमा आइपर्ने हरेक दु:ख, पीडामा सारथि बनिरहने श्रेष्ठलाई जनप्रतिनिधिको रूपमा पाउँदा वडा निवासी नागरिकहरु हर्षित छन् । श्रेष्ठ जस्ता सक्षम युवाले मात्र नागरिकहरुको आर्थिक, सामाजिक, शैक्षिक रुपान्तरण  एवम् पर्यावरणीय हितलाई ध्यानमा राखेर कर्म गर्न सक्छन् । हरेक युवाहरूका आशा भरोसा र विकासका पहरेदार श्रेष्ठसँग विचार विन्यास नेटवर्कको लागि रवीन्द्र ढुंगेलले गर्नुभएको छोटो कुराकानी यसप्रकार छ ।

तपाईं युवा जनप्रतिनिधि हुनुहुन्छ, जनप्रतिनिधि नहुदा पनि तपाईं सामाजिक कार्यमा निकै सक्रिय हुनुहुन्थ्यो, जनप्रतिनिधि भएपछि कस्तो अन्तर पाउनुभयो ?

पक्कै पनि म लामो समयदेखि सामाजिक कार्यमा क्रियाशिल छु । हाम्रा नागरिकहरुले भोग्ने हरेक किसिमको जनजीवनको अनुभुती मैले गरेको छु । जनप्रतिनिधि नहुदा अलि कम जिम्मेवारी हुन्थ्यो तर जनप्रतिनिधि भएपछि स्वाभाविक रूपमा नागरिकहरुबाट अपेक्षा धेरै हुन्छ त्यसैले पनि कसरी नागरिकहरुको अपेक्षा परिपुर्ति गर्न सकिन्छ भन्ने कुरा मात्र मनमा रहन्छ । जनप्रतिनिधि भएपछि अती व्यस्त भएको छु ।

यहाँ निर्वाचित भएर आएलगत्तै विकास निर्माणका कार्यहरुमा निकै सक्रिय हुनुहुन्छ , सडक पुर्वाधार विकासको अवस्था के छ ?

सडक पुर्वाधारको कुरा गर्दा खेरी अहिले हाम्रो वडाको ७५% मुख्य सडक पिच भैसकेको छ भने बाकी २५% पनि ठेक्का प्रक्रियामा गइसकेको छ । ठेकेदारको लापरबाहीको कारण हामीले अपजस व्यहोर्नुपर्ने भएको छ । हामीले सडक डिभिजनसँग पनि कुरा गरेर दबाब सृजना गरिरहेका छौँ ।

तपाईं लामो समयदेखि संस्कृति संरक्षणमा क्रियाशिल हुनुहुन्छ , सांस्कृतिक वैभवले भरिपूर्ण चुनिखेललाई कसरी सिगार्दै हुनुहुन्छ ?

हो, म लामो समयदेखि संस्कृति संरक्षण अभियानमा छु । हाम्रो संस्कृति, सभ्यता नै हाम्रो सम्पत्ति हो, हाम्रो पहिचान हो । हामीले ऐतिहासिक मन्दिरको पुनर्निर्माण लगभग सम्पन्न गरिसकेका छौँ । हाम्रो वडामा अब निर्माण हुने हरेक आवास गृहलाई मौलिकतामा आधारित बनाउन निर्देश दिन्छौं । साथै हाम्रा शैक्षिक संस्थाहरुमा निवारी भाषालाई प्रवर्द्धन गर्न प्रोत्साहन गर्छौं ।

व्यवसाय गर्ने तथा अन्य धेरै नागरिकहरुमा विभिन्न किसिमका समस्याहरु हुनसक्छ, त्यसखाले समस्याहरुको समाधानको लागि केहि कार्यहरु गर्नुभएको छ ?

विभिन्न नागरिकहरुको समस्या सुन्न हामीले त्रैमासिक रूपमा टोल भेला आयोजना गर्ने निति लिएका छौँ । व्यवसाय गर्ने नागरिकहरु एवम् व्यवसाय स्थगित गरेर बस्नुभएका नागरिकहरुलाई लक्षित गरि २० देखि २५ प्रतिशतसम्म कर छुटका कार्यक्रमहरु ल्याएका छौँ ।

सामाजिक सुरक्षा भत्ता घर घरमा पुग्न थाल्यो ?

हाम्रो गौरवशाली पार्टी नेकपा ( एमाले )को सरकारको पालामा सुरुवात भएको सामाजिक सुरक्षा अर्थात वृद्ध भत्ता यसै आर्थिक बर्षदेखि हामी घर घरमा पुर्याउनेछौँ । साथमा हाम्रा वृद्ध बा आमाहरुको निशुल्क स्वास्थ्य जाँच पनि गर्नेछौँ ।

पर्यावरणीय असुरक्षाको प्रश्न यहाँ पटकपटक उठ्छ, यसको समाधानको लागि के गरिरहनुभएको छ ?

वातावरणलाई सफा, स्वच्छ एवम् सन्तुलित राख्नु हाम्रो कर्तव्य हो, जिम्मेवारी हो । त्यसको लागि नगरपालिकाको वातावरण साखासँग समन्वय गरेर वृक्षरोपण लगायत वातावरणिय सुरक्षाका विविध कार्यहरु गरिरहेका छौँ ।


शिक्षा एवम् प्रविधिको क्षेत्रमा के कस्ता योजना छन् ?

शिक्षा क्षेत्रको सुधारको लागि नगरपालिकाले ठुलो बजेट विनियोजन गरेको छ । हामीले पनि निजि तथा सामुदायिक दुबै शैक्षिक संस्थाहरुको उन्नयनको लाई नेवारी भाषा शिक्षा तथा अन्य गुणस्तरीय शिक्षा सञ्चालनको योजना बनाएका छौँ । प्रविधिको क्षेत्रमा हामीले वडाबाट प्राप्त गरिने सेवालाई डिजिटल माध्यमबाट प्रदान गर्नेबारे पनि गहन रूपमा गृहकार्य गरिरहेका छौँ ।

तपाईंको कार्यकाल सफल रहोस् , हार्दिक शुभकामना ।

मेरो कुरा व्यक्त गर्ने अवसर प्रदान गर्नुभएकोमा हार्दिक धन्यवाद ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय