
२०७८-१२/२९ – इश्वर दाहाल ( दोलखा )
देशमा राजतन्त्र गणतन्त्र हुँदै लोकतान्त्रिक शासन व्यवस्था चलिरहेको छ । विगतमा यो व्यवस्थाका लागि भएको हिंसात्मक क्रान्तिले निम्त्याएको विनाशकारी द्वन्दका बाबजुद हामी यो व्यवस्थामा आइपुगेका छौँ । देश संघीयतामा गइसकेपछि हामीले जनप्रतिनिधिका ५ बर्ष बिताइसकेका छौँ ।
तुलनात्मक रुपमा त्यो कर्मचारी तन्त्रले गरेको शासन प्रणाली र त्यसले गरेका विकास र अहिलेको जनप्रतिनिधिको विकासका विषयमा खुलेर बहस हुन थालेका छन यो सकारात्मक पक्ष हो । हामीले जनप्रतिनिधि विहीन अवस्थाबाट अहिले जनप्रतिनिधिको लोकतान्त्रिक निर्वाचन पश्चात् उनिहरुको विकासको मोडल पनि हेरिसकेका छौँ । यसले कस्तो प्रभाव पार्यो आम मानिसले आ-आफ्नो किसिमले अनुभुति गरेका नै छन् ।
अबको निर्वाचनमा हामीले हाम्रो वडा, गाउँ, नगरपालिकामा हुने निर्वाचनमा जनताको घरदैलोमा आउने उम्मेदवारलाई सचेत र सजग बनाउनुपर्छ कि उनिहरुको विकासको मोडल के पहिलाको घोषणापत्र अनुरुप के कति विकासका काम भए के गर्न सकिन्थ्यो किन सकिएन र अब कसरी सकिन्छ भन्ने विषमा गहन छलफल पश्चात् मात्रै आफ्नो भोट दिने कुरा गरौं यसले उनिहरुलाई जितेर पनि हामीले दबाब सिर्जना गर्न सक्छौं ।
यहाँ मैले केही चुनाबि योजनाहरु बनाएको छु यदि म वडा अध्यक्ष भएमा निम्न बुदागत रुपमा नीति तथा कार्यक्रमको निर्माण गर्ने थिएँ यी प्रतिनिधिमुलक योजनाहरु हुन यसमा धेरै थपेर समुन्नत गाउँ बनाउन सकिन्छ । तपाईं उम्मेदवारी दिने सोच बनाउनु भएका प्रतिनिधिले पनि अबको गाउँ, वडाको चुनावि एजेन्डा निम्नलिखित अनरुप हुनुपर्छ । चाहेमा हरेक वडाले यी काम गर्नसक्छन् तर गरेनन् । अब हामी गर्छौँ ।
१) हरेक घाटमा दाहसंस्कारका लागि दाउरा नि:शुल्क ।
२) सुत्केरी महिलालाई सुत्केरी खर्च र मृतक परिवारलाई दाहसंस्कारका लागि १०,००० रुपैयाँ सहयोगको व्यवस्था ।
३) अपांगता भएका, अशक्तहरुलाई वडाको सहयोगमा नि:शुल्क शिक्षा ।
४) हरेक युवाहरुलाई नि:शुल्क सीपमूलक तालिम र तालिम पश्चात् रोजगारीको ग्यारेन्टी ।
५) हरेक स्वास्थ्य चौकीहरुमा भरपुर औषधि र स्वास्थ्य स्वमसेसेविकाहरुद्वारा घरघरमा गएर मासिक स्वास्थ्य परिक्षण ।
६) आफ्ना वडाभित्र रहेका सामाजिक तथा धार्मिक महत्व बोक्ने मठ/मन्दिर, तलाउ, गुफा, चौतारी तथा धार्मिक स्थलहरुको प्रचार, सम्बर्द्धन र संरक्षण ।
७) खेल, कला तथा साहित्य क्षेत्रमा रुचि राख्नेहरुलाई नि:शुल्क तालिम, कोष स्थापना, सम्मान तथा परिचयपत्रको व्यवस्था ।
८) ३० युनिटसम्म नि:शुल्क विद्युत प्रयोगको ब्यवस्था ।
९) आमा समूहहरुलाई लक्षित गरि स्वरोजगारी मुलक तालिमको ब्यवस्था ।
१०) एक टोल एक उत्पादनमा जोड दिँदै कृषिमा भरपुर लगानी ।
११) ६० वर्ष माथिका हरेक नागरिकलाई द्वेमासिक रुपमा स्थानीय तथा आन्तरिक तिर्थ अवलोकन भ्रमणको व्यवस्था गर्ने ।
१२. जेष्ठ नागरिकको हेरचाह तथा उनिहरुको खुसिका लागि वडाले पारिवारिक मिलन कार्यक्रम राख्ने ।
१३ . उत्कृष्ट छोराछोरी घोषणा गर्ने उनिहरुका सफलता कथाहरु प्रकाशन तथा प्रसारण गरि सम्मानित गर्ने ।
१४. आफ्नो गाउँ आफैँ बनाऔं वडाको उत्पादन बढाऔं अभियान सञ्चालन गर्ने ।
१५. वडाका सम्पूर्ण सहकारीको मुनाफामा सञ्चालित एक टोल एक पहिचान सहितको उत्पादन सञ्चालन गर्ने ।
१६. वडामा रहेका सामुदायिक तथा निजि स्कुलमा स्थानीय सम्पदाको धार्मिक साँस्कृतिक तथा ऐतिहासिक पहिचानको पाठ्यक्रम लागू गर्ने ।
१७ बालबालिकालाई जनप्रतिनिधि अन्तरक्रिया कार्यक्रम सञ्चालन गर्ने ।
१८. विदेश बाट फर्केका दाजुभाइ तथा दिदीबहिनीको सीप र श्रमको पहिचान गरि वडामा नै लगानीको वातावरण सिर्जना गर्ने ।
१९ . सामुदायिक वन तथा वातावरणको संरक्षणको लागि वातावरणीय शिक्षा विस्तार गर्ने ।
२०) मेरो स्वास्थ्य मेरो हातमा भन्ने अभियानमा कृषकलाई अर्गानिक खेति सहित रैथाने बालिमा अनुदान सहित बजार व्यापारको सुनिश्चित गर्ने गर्न हरेक नागरिकको शिक्षा र स्वास्थ्यको जिम्मा वडाले लिने।
माथि उल्लेखित बुँदामा व्यापक रुपमा वडाका योजनाहरु समावेश गर्न सकिन्छ । हामीले आफ्नो उम्मेदवारी घोषणा गर्दै गर्दा विगतको समिक्षा साथै वर्तमानको
आधारमा भावि नयाँ योजनाको निर्माण गर्नु जरुरी छ । प्रत्यक्ष रुपमा मतदाता आम नगरिकको मतले प्रभाव पर्ने र निर्वाचनमा निर्वाचित हुने हुनाले आफ्नो मतको सहि सदुपयोग गरि सक्षम सबल नेतृत्व छनौट गर्नु पर्दछ जसले अबको ५ वर्षको अन्तरालमा विकासका आयामहरु छर्न सकोस् । तपाईहरु पनि आफ्नो वाड तथा नगरपालिकामा उठ्ने पार्टीका उम्मेदवारहरुलाइ प्रतिबद्धता पत्र बनाएर सामुहिक रुपमा सार्वजनिक हस्ताक्षर गर्न लागाउनुस ताकि जितेर उसलाई आफ्नो प्रतिबद्धता हेरेर जनमैत्रि विकास गर्न दबाब पुगोस् ।
दाहाल नेपाल युवा परिषद दोलखाका अध्यक्ष समेत हुन ।