विरेन्द्र माविका वार्षिक परिक्षामा कक्षागत रूपमा उत्कृष्ट अंक प्राप्त गर्ने जेहेन्दार विद्यार्थीहरुलाई लक्षित गर्दै समाजसेवी एवं शिक्षिका बिमला दुलालले छात्रवृत्ति कोष स्थापना गर्नुभएको छ । उहाँले कम्जोर आर्थिक अवस्था भएकै कारण धेरै उत्कृष्ट विद्यार्थीहरुको आफ्नो शैक्षिक भविष्य अन्धकारमय नहोस् भन्ने उदेश्यले दोलखाकोको शैलुङ गाउँपालिका-५ स्थित विरेन्द्र माध्यमिक विद्यालयमा रु. एक लाख रुपैयाँको नैन प्रसाद / ठुलीकान्छी दुलाल जेहेन्दार छात्रवृत्ति अक्षयकोष स्थापना गर्नुभएको हो ।



जेहेन्दार विद्यार्थीहरुलाई प्रत्येक्ष / अप्रत्यक्ष रूपमा सहयोग गर्दै आइरहनुभएकी सोही गाउँपालिका ,५ काटाकुटी निवासी दुलालले ग्रामीण भेगमा रहेको सो विद्यालयमा अध्ययनरत जेहेन्दार विद्यार्थीको पठनपाठनमा सहयोग पुर्याउने उद्देश्य सहित अक्षयकोष स्थापना गरिएको बताउनुभयो । शिक्षण पेसामा विगत लामो समयदेखि कार्यरत दुलाल ग्रामीण शैक्षिक उन्नयनमा क्रियाशिल रहँदै आउनुभएको छ ।
अक्षयकोषबाट प्राप्त हुने वार्षिक व्याजबाट वार्षिक परिक्षामा कक्षागत रूपमा उत्कृष्ट अंक प्राप्त गर्ने विपन्न विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिनेछ । “छात्रवृत्तिले विपन्न विद्यार्थीको अध्ययनका लागि सहयोग पुर्याउँछ,” उहाँले भन्नुभयो । गत २०७५ पौष २० गते विद्यालयमा आयोजित एक कार्यक्रममा श्रीमती दुलालले सो अक्षयकोष स्थापना गर्नुभएको हो ।
