दोलखाको कम्युनिस्ट राजनीतिमा लोकप्रिय् एवं परिचीत नाम हो, भरत प्रसाद दुलाल । ०४६ सालमा अनेरास्ववियुबाट सक्रिय विद्यार्थी राजनीतिमा होमिएका दुलाल, विभिन्न समयमा राजधानीका विभिन्न क्याम्पस कमिटीमा रहँदै मुल राजनीतिक वृत्तमा आएका वैचारिक युवा नेता हुन् । शैलुङ गाउँपालिकालाई वाग्मती प्रदेशकै नमुना र उत्कृष्ट गाउँपालिका बनाउँदै धेरैको मन जित्न सफल दुलाल मार्क्सवाद-लेनिनवाद सर्वहारा पक्षीय वैज्ञानिक दर्शन र सिद्धान्त हो जसलाई सर्वहारा वर्गले अपनाउन र लागू गर्न सक्छ भन्ने ध्येयमा केन्द्रित हुँदै गृह जिल्ला दोलखा फर्किएका दुलाल दोलखाको भूगोलका सर्वहारावर्गीय चिन्तक र नेताहरूको श्रेणीमा पर्छन् ।

आफ्नो जिल्लाका राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक र भूराजनीतिक अवस्थालाई सही ढंगले ठम्याउन सक्ने कुसलता भएका दुलाल मार्क्सवाद-लेनिनवादका दृष्टिकोण, सिद्धान्त र मान्यतालाई वातावरण अनुकुल सिर्जनात्मक ढंगले लागू गर्न सक्नुपर्छ भन्ने तर्क राख्छन् । यस्तो गर्न सकेकाले नै रूस, चीन, कोरिया, भियतनाम, क्युबा आदि मुलुकहरूका सर्वहारावर्गीय पार्टी र नेताहरूले आआफ्ना मुलुकका सामाजिक क्रान्तिहरूलाई सफल बनाएका हुन् र विश्वमा मार्क्सवाद-लेनिनवादको सफल प्रयोगका आआफ्ना नयाँ उदाहरण देखाए । अब हामीले पनि सिङ्गो दोलखालाई प्रगतिशील पथमा डोर्‍याउन मार्क्सवादको बैज्ञानिक प्रयोग र अभ्यास अनिवार्य शर्त हो भन्ने विचार राख्ने दुलाल आगामी दोलखा एमालेको नेतृत्व गर्ने दौडमा छन् । सोही विषयमा विचार विन्यासका प्रधान- सम्पादक रविन्द्र ढुंगेलले नेता भरत प्रसाद दुलालसँग गर्नुभएको  छोटो कुराकानी यसप्रकार छ ।

१४ वर्षको काठमाडौंकाे विद्यार्थी राजनितीबाट दोलखा फर्कनुभो, दोलखाको नेकपा( एमाले) लाई थप संगठित र बलियो बनाउन तपाईंले कसरी योगदान गर्नुभयो ?

२०६० सालमा काठमाडौबाट दोलखा फर्किएपछि नेकपा (एमाले) गाउँ कमिटी काटाकुटी सचिव(पार्टी प्रमुखको) काे जिम्मेवारी ( दुई पटक ) र ७ नं. इलाका कमिटीमा बसेर क्रियाशिल रूपमा आफ्नो जिम्मेवारी पुरा गरेँ । त्यसपश्चात नेपाल राष्ट्रिय शिक्षक संगठन जिल्ला कार्यसमिति दाेलखाकाे काेषाध्यक्ष र सल्लाहकाे जिम्मेवारी पाएँ त्यो पनि पुरा गरेँ , २०६३ सालमा सम्पन्न ७ औं जिल्ला अधिवेशनमा जिल्ला कमिटी सदस्य र निर्वाचन क्षेत्रीय कमिटी क्षेत्र नं.२ मा रहेर काम गरेँ । २०६६ सालमा सम्पन्न ८ औं जिल्ला अधिवेशनमा जिल्ला कमिटी सचिव पदमा निर्वाचित हुँदै २०७० सालमा सम्पन्न ९ औं जिल्ला अधिवेशनमा उपाध्यक्ष पदमा उमेदवारी दर्ता गरेकोमा सर्वसम्मत गर्ने साथीहरूको प्रयासलाई सफल बनाउन पुन: सचिवमा नै रहँदै काम गरिरहेकै छु। जुँगा नउम्रदै राजनीतिक आन्दोलनमा हाेमिएकाे केटाे जुँगा फुल्न लाग्दा समेत लगातार यहीँ आन्दोलनमा क्रियाशील छु । यस बीच २ पटक पार्टी फुट्याे तर दुवै पटक नेकपा (एमाले) लाई नै बलियो बनाउन लागेँ, पार्टीको बृहत हितमा अनवरत योगदान दिइरहेको छु ।

साम्यवादभन्दा उत्तम संसारमा अर्को अर्थव्यवस्था छैन, न्यायपूर्ण समाजको आदर्शलाई पूरा गर्न एमाले  कस्तो बनाउने भन्ने वैचारिक / रणनीतिक फ्रेमवर्क कार्यक्रम एवं कार्ययोजना तयार पार्नसक्ने कम्युनिस्ट नेता आजसम्म दोलखामा फेला पार्न सकेको देखिन्न, के अब भरत दुलालले नेतृत्व गर्ने एमालेले दोलखाको समृद्धि र दोलखालिमा खुसियाली ल्याउन सक्छ ? तपाईंको उम्मेद्बारी किन ?

दोलखामा एमालेको जग बसाल्न महत्त्वपूर्ण योगदान गर्नुहुने अग्रज सम्पुर्ण नेताहरुलाई सम्मान गर्दै हामीले दोलखाको समृद्धि, विकास र उन्नतिबारे साझा धारणा बनाउन आवश्यक छ । प्राकृतिक स्रोत सम्पदामा हाम्रो जिल्ला धनी छ र जनताहरू इमान्दार तथा परिश्रमी छन् । सामन्ती तथा साम्राज्यवादी शोषणलाई समाप्त पार्न जनताको श्रम, शीप र प्रतिभालाई विकास निर्माणमा सञ्चालन गर्ने तथा प्राकृतिक श्रोत सम्पदालाई जनताको हितमा उपयोग गर्न प्रगतिशील विकासको दिशा अवलम्बन गर्ने हो भने दोलखा एउटा सुन्दर, समृद्ध र सुखी जिल्ला बन्न सक्ने कुरामा कुनै शङ्का गर्नु पर्दैन त्यसको लागि मेरो नेतृत्वको दोलखा ( एमाले ) ले सैद्धान्तिक रणनीतिक योजना तयार गर्दै आगामी स्थानीय तहको निर्वाचनको लागि पनि साझा कार्यक्रमहरु तयार गर्दै एमालेको विरासतलाई थप बलियो र मजबुत बनाउनेछौँ ।

यसकारण मेरो उम्मेद्बारी :

१) नेकपा (एमाले ) ले अंगीकार गरिरहेको जबजले दोलखाली जनतालाई आर्थिक, सामाजिक र राजनीतिक तीनै क्षेत्रमा अधिकारसम्पन्न बनाउन ।

२) समाजका हरेक क्षेत्रमा जनतासँग प्रत्यक्ष जोडिएर त्यहाँ परिवर्तन र रूपान्तरणका लागि पार्टीलाई क्रियाशिल बनाउन ।

३) विपन्नताको अन्त्य गरी आर्थिक सम्पन्नता र वैभवपुर्ण सम्पन्नतासहितको ‘समृद्धि’ निर्माणको ऐतिहासिक अभियान सुरु गर्न ।

४) जनताबीच आर्थिक सामाजिक समानता, सेवाप्रवाहमा समान पहुँच, दिगो उत्पादन क्षेत्रको विस्तार गर्न, रोजगारीको सिर्जना व्यापार सन्तुलन गर्न पर्यावरणीय सन्तुलनलाई ध्यान दिन ।

५) आगामी स्थानीय तहको निर्वाचनमा नेकपा ( एमाले ) को जीत सुनिश्चित गर्न ” समृद्ध दोलखा निर्माणमा – सर्वदलीय साझा खाका तयार गर्दै जिल्लालाई सम्पन्न बनाउन ।

६) जनताको जीवनस्तरसँग सम्बन्धित प्रत्येक विषयमा नीति तथा घोषणापत्र तयार गर्दै, जबजको वस्तुगत प्रयोग गर्न ।

 

फोटो फिचर :

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय