नेपालको संविधान २०७२ द्वारा नेपाललाई सङ्घीय राज्यमा रूपान्तरण गरी देशको भूभागलाई विभिन्न प्रशासनिक एकाइमा विभाजन गरिएपछि बनेको सात प्रदेश मध्यको एक बागमती प्रदेशको एउटा जिल्ला हो दोलखा । दोलखा र जिपछिरिङ लामा परस्परमा अभेद छन्,सरुप छन्,अनन्य छन् । वि.सं. २०१२ मा दोलखा जिल्ला जिरी नगरपालिका स्यामामा जन्मिएका लामा नेपाली कांग्रेस पुर्व केन्द्रिय सदस्य एवं प्रतिनिधि सभा सदस्य हुन् । सानैदेखि प्रजातान्त्रिक र परिवर्तनशिल विचारधारा भएका लामा राष्ट्रियता,लोकतन्त्र र समाजवादको सिद्धान्त एवं आदर्शप्रति अटुट आस्था, दृढ़ अडान र निरन्तर अभियानमा नै क्रियाशिल छन् ।

जनता, मजदुरसँग प्रत्यक्ष संवादमा रहने लामा सरल जीवनशैली मनपराउने शालीन, समझदार, सादगी एवं किसानका नेता हुन् । त्यो वर्गको पहुँचमा रहनसक्ने एवं भावना बुझ्नसक्ने नेता हुन् । प्रजातान्त्रिक विचारधारालाई अनुसरण गरिरहेको मुलुकको जेठो पार्टी नेपाली कांग्रेसको नेतृत्वमा गठबन्धन सरकार छ । कांग्रेस नेतृत्वको यो सरकारले राष्ट्रियता, अखण्डता, सार्वभौमिकता, समृद्धि एवं स्वाभिमानको निम्ति कस्तो भूमिका निर्वाह गर्छ त्यो भने हेर्न बाकी छ । नेपाली कांग्रेसको आसन्न १४ औं महाधिवेशनमा संस्थापन पक्षबाट केन्द्रिय सदस्यको उम्मेद्बारी दिन लागेका नेता लामा भन्नुहुन्छ, वीपी कोइरालाको विचार, कैयन सहिदको बलिदान, हजारौं योद्धाको समर्पण र लाखौं सदस्यको अनवरत यात्रा हाम्रो त्यही अभिष्टमा केन्द्रित र लक्ष्यित छ, वीपी संगै सुवर्ण शमशेर, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाले विभिन्न कालखण्डमा यो पार्टीको र समग्र देशको नेतृत्व गर्नुभयो l उहाँहरुको नेतृत्वमा मुलुकले हासिल गरेको राजनैतिक र आर्थिक उपलब्धिको जगमा हामीले नेपाल देशको समृद्धि र खुसी प्राप्तिको यात्रालाई अघि बढाउनु छ l

उहाँ थप्निहुन्छ :- २००७ सालदेखि २०४६ हुँदै २०६२/०६३ आन्दोलनमा इतिहास बोकेको नेपाली कांग्रेसको अग्रणी भूमिका छ। जनयुद्धको अन्त्य, हतियार व्यवस्थापन, संविधानसभाको निर्वाचन तथा संघीय लोकतान्त्रिक गणतन्त्र घोषणामा नेपाली कांग्रेसको भूमिका नेतृत्वदायी रहेको थियो। कांग्रेसकै कारण शान्ति प्रक्रिया र संविधान निर्माण सम्भव भएको हो। मुलुक र जनताको विश्वासप्राप्त दल कांग्रेस लोकतन्त्र र समृद्धिप्रति प्रतिबद्ध भएकाले देशका लागि अपरिहार्य हो। संविधान निर्माणदेखि राजनीतिक स्थिरता, आम निर्वाचन र गणतन्त्र संस्थागत गर्न कांग्रेसको नेतृत्वदायी भूमिकाले संभव हो। कांग्रेसका पूर्व सभापति गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाको सहासिक र दुरगामी निर्णयका कारण संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको हो।

केन्द्रिय सदस्यको लागि तपाईंको उम्मेद्बारी किन भन्ने प्रश्नमा :- गत निर्वाचनमा कांग्रेसलाई घेराबन्दीमा पार्न छापामार शैलीमा रातारात पार्टी एकताको घोषणा गरेका थिए। कम्युनिस्टहरु कांग्रेसकै नेतृत्व र अगुवाइमा अगाडि बढ्दै र बामे सर्दै आएको इतिहास हो। आन्दोलन र परिवर्तनका तथ्यहरुले यही भनिरहेको छ। १४औँ केन्द्रीय महाधिवेशनको तयारीमा लाग्दै गर्दा हामीले वर्तमान नेपाली राजनीतिलाई सुक्ष्म रूपमा अध्ययन एवं विश्लेषण गर्नु र भावी रणनीति बनाउनु जरुरी छ। जसरी नेपालको सबैखाले आन्दोलन र परिवर्तनमा नेपाली कांग्रेसको नेतृत्वदायी भूमिका रह्यो। त्यसरी नै मुलुकको समृद्धि र विकासमा नेपाली कांग्रेसले अभिभावकीय भूमिका र जिम्मेवारी निभाउनु आवश्यक छ । संघीय लोकतान्त्रिक गणतन्त्रको संस्थागत विकास गर्न र मुलुकको समृद्धिमा योगदान पुर्‍याउन, राष्ट्रियता, लोकतन्त्र र समाजवादको आदर्श अनि मान्यताको आधारमा संघीय लोकतान्त्रिक गणतन्त्र ,समावेशिता, मिश्रित निर्वाचन प्रणाली,शान्ति र अहिंसाको सैद्धान्तिक धरातलमा आधुनिक र समुन्नत नेपालको निर्माण अभियानमा जुट्न र जुटाउँदै राष्ट्रलाई समृद्ध बनाउन, गाउँमुखी अर्थनीति, जनमुखी र श्रमको सम्मान गर्ने संस्कृति विकास गर्न,उदार भावना, अलिकति परोपकारिता र नि:स्वार्थपना तथा अरूका प्रति सहानुभूतिशीलताको विकास गर्न र गराउन, लोकतान्त्रिक समाजवादको प्रयोग गर्न, न्यायसहितको आर्थिक उन्नति गराउँदै, पक्षपातरहित शासन संचालन गर्न र गराउन मेरो उम्मेद्बारी ।

सादगी नेता जिपछिरिङ लामाबारे थप :- एक महान समाजसेवी, सफल निर्माण व्यवसायी, परोपकारी राजनीतिज्ञ, एक उदाहरणीय माननीय। पिता तेङिमा शेर्पा र माता दाडोमा शेर्पाका छोरा जिप छिरिङ लामाको जन्म दोलखा जिल्लाको साबिक स्यामा गा.वि.स. हालको परिवर्तित जिरी नगरपालिका वाड नं. १ मा वि.स. २०१२ साल भाद्र महिनाको ११ गते भएको हो। नेपाली कांग्रेसका सांसद जिप छिरिङ लामाले आफ्नो गृह जिल्ला दोलखा लगायत मुलुकका विभिन्न गाँउ-ठाउँमा समाजसेवा मार्फत अतुलनीय योगदान दिएका छन्। उनले विद्यालय, गुम्बा, मठ-मन्दिर, स्वास्थ्य चौकी, बाटोघाटो निर्माण लगायत धेरै शिर्षकमा धेरै नै आर्थिक सहयोग गरेका छन्। लामो समय देखि निस्वार्थ भावले समाज सेवा गर्दै आएका मनकारी सांसद लामाले पछिल्लो चरणमा तेङिमा-दाडोमा लामा स्मृति प्रतिष्ठान मार्फत सामाजिक सेवाको परियोजनाहरु सञ्चालन गरिरहेका छन्। सांसद लामाले आफ्ना आमा र बुबाका नाममा तेङिमा-दाडोमा लामा स्मृति प्रतिष्ठान २०७४ सालमा स्थापना गरेको हो।
प्रतिष्ठान मार्फत नेपाली कांग्रेसका नेता एवं समाजसेवी, संघीय सांसद जिप छिरिङ लामाले दोलखाका ९ वटै स्थानीय तहलाई एक-एक थान एम्बुलेन्स सहित २ वटा शव वहान वितरण गरिसकेको छ। सामाजिक काममा लामो समय देखि सहयोग गर्दै आएका सांसद लामाले दोलखाली नागरिकहरुको स्वास्थ्य अवस्थालाई मध्यनजर गर्दै २ शव वहान र ९ वटा एम्बुलेन्स सहयोग गरेको हो । जिल्लाका दुई ठुला शहरहरुलाई लक्षित गरि भिमेश्वर नगरपालिका र जिरी नगरपालिकालाई एक एक वटा शव वहान समेत उपलब्ध गराएको छ । दोलखा जिल्लाका सबै स्थानीय तहमा यसरी पुर्‍याईएका एम्वुलेन्सहरु सरकारी सेतो प्लेटमा चल्ने गरि यसको व्यवस्थापन र संचालन स्थानीय तहहरुले नै गरिरहेका छन्। स्रोत साधन बिहिन स्थानीय तहका लागि यस प्रकारको सहयोग उपलव्ध गराउने मनकारी नेता तथा साँसद लामा नै पहिलो समाजसेवी हो। संघीयता कार्यान्वयनका लागि स्थानीय तहलाई स्रोतसाधनपूर्ण बनाउनु अनिवार्य हुन्छ । तर सरकारले स्थानीय तह तथा वडाहरुको कार्यालय भवन लगायतका भौतिक पूर्वाधारहरु नै जोहो गर्न नसकेका बेला साँसद लामाले उपलव्ध गराएको एम्वुलेन्सले गाउँ गाउँका जनतालाई समयमै बिरामीको उपचार गर्न नपाउने समस्याबाट मुक्ति मिलेको छ ।
सरकारले विकास र सम्वृद्धिका सपनाहरुलाई कागजी घोषणामा सीमित राखिरहेका बेला एकजना माननीयले उदार ह्दयले यसरी माता पिताको स्मृतिमा खोलेको संस्था मार्फत दूरदराजका गाउँका जनतालाई बिना भेदभाव समान रुपले एम्वुलेन्स सेवा मार्फत परोपकारी काम गर्नु साच्चै उदाहरणीय योगदान हो । नेताले भाषण होईन काम गरे जनजनको मन छुन सकिन्छ भन्ने उदाहरण पनि हो यो साँसद लामाको दानकर्म।
त्यसो त गाउँका जनताका लागि देशमा जुनतन्त्र आए पनि, जुन व्यवस्था आए पनि एम्वुलेन्स ठूलै रहर र सपना थियो तर अब भने यथार्थ भएको छ । यसबाट स्थानीय जनता तथा जनताका प्रतिनिधिलाई सुविधा थपिदा खुसी र हर्षको पनि सीमा छैन ।
साँसद लामा एक जना उदाहरणीय माननीय, जसले गौरीशंकरको काखमा अवस्थित प्राकृतिक रुपले अति सुन्दर दोलखाका उच्च हिमालीदेखि समतल वा भिराला पाखा पखेराका सबै गाँउहरुलाई एम्वुलेन्सको माद्यमबाट एउटै डोरिमा उन्ने काम गरेका छन् ।

सांसद लामाले प्रतिनिधि सभामा प्राकृतिक प्रकोपका पीडितहरुको अवस्थाको बारेमा सरकार र सदनको ध्यानाकर्षण गर्नुको साथै आफ्नै निजि खर्चमा राहत पनि प्रदान गरे। प्रशस्तै दान गर्न सक्ने दानवीर सांसद लामाले २०७२/०७३ को भूकम्प बाट मृत्यु भएका दोलखा जिल्लाका १ सय ७४ परिवारलाई पनि आर्थिक सहयोग गरिसकेको छ भने दोलखाको कालिञ्चोक गाँउपालिका ५ लापिलाङका १ सय ५० परिवारलाई चामल, दाल, नुन र तेल जस्ता खाद्य सामाग्री वितरण गरेका छन्।

जिरी नगरपालिका वडा नम्बर १ मेताङ्गेमा खानेपानीको लागि पाइप, ओर्गेन शेढुब दर्ग्यालिङ गुम्बा, ङग्युर साम्तेन क्षोलिङ गुम्बा, पाङलेमु मणि गुम्बाको पुननिर्माणमा आर्थिक सहयोग गर्नुका साथै पुम्पा स्टोन पार्कमा सार्वजनिक हल र सो हलमा २ सय २० थान कुर्सी, पुम्पामा शिवको मूर्ति र गजुरको स्थापना सांसद लामाको आर्थिक सहयोगमा निर्माण सम्पन्न भएको छ।

जिरीमा सामाजिक सेवा केन्द्र जिरी, भिम बहादुर तामाङ स्मृति प्रतिष्ठानको निर्माणमा सहयोग, बौद्ध तार क्षोर्तेनको निर्माणमा सहयोग र जिरी स्पोर्टस् कल्बको जग्गामा अन्तिम दाहसंस्कार गरे पश्चात काजक्रिया गर्न ट्रष्टको हल निर्माणमा सांसद लामा बाट आर्थिक सहयोग भएको देखिन्छ।
मुलुकलाई अन्तराष्ट्रिय स्तरमा चिनाउने गरि विश्व रेकर्ड कायम गर्ने गरि केटू हिमाल आरोहण गर्ने कीर्तिमानी आरोहीहरुलाई पनि सांसद लामाले आफ्नो व्यक्तिगत तर्फ बाट आर्थिक सहयोग गर्नुका साथै सांसद लामाको पहलबाट १ लाख नगद र प्रमाणपत्र नेपाल सरकारको तर्फ बाट उपलब्ध गर्ने गराउने व्यवस्था समेत भएको छ।
देशैभरका विभिन्न रोग बाट पीडित भएका, असाहय, आर्थिक अभावले उपचार गर्न कठिनाई भएका, आगोलागी पीडित, बाढीपहिरो पीडित, भूकम्प पीडित जस्ता दिनदुखीहरुलाई जिपछिरिङ लामाले ठुलो संख्यामा सहयोग गरेका छन्।

जिरीमा प्रहरी चौकी निर्माणमा सहयोग, त्यस्तै जिल्लाका विभिन्न स्थानमा दाहसंस्कार गर्ने घाटहरुमा आवश्यक पूर्वाधार निर्माणका लागि पैसा, सिमेन्ट पनि उनले सहयोग गरेका छन्।
दोलखाको चरिकोटमा नेपाली कांग्रेसको पार्टी कार्यालयका लागि जग्गा खरिद र निर्माणमा आर्थिक सहयोग गर्नुका साथै रामेछाप, सिन्धुली डडेलधुरा, सल्यान, सोलुखुम्बु लगायत विभिन्न जिल्लामा कांगेसको पार्टी कार्यालय निर्माणमा सांसद लामाले आर्थिक सहयोग गरेका छन्। यसरी विभिन्न जिल्लामा पार्टी कार्यालय निर्माणमा सहयोग गरेका लामाले पार्टीको केन्द्रीय कार्यालय निर्माणमा पनि महत्वपूर्ण भूमिका निर्वाह गरेका छन्। रामशरण महतको संयोजकत्वमा रहेको समितिमा रहेर उनले साथ सहयोग र समय समय खर्चेका छन्।

सामाजिक संघ संस्थाहरुको भवन निर्माणमा पनि सांसद लामाले निकै ठुलो आर्थिक सहयोग गरेको पाइन्छ। उनै नेपाली कांग्रेका सांसद जिप छिरिङ लामा यतिखेर नेपाली कांग्रेसको १४ औं महाधिवेशनलाई लक्षित भएर केन्द्रिय सदस्यको उमेदवार हुँदै हुनुहुन्छ । उहाँलाई हार्दिक मंगलमय शुभकामना । 

:- लेखन, संपादन :- रवीन्द्र ढुंगेल

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय