विश्वमा २३औ एवं नेपालमा १३औं विश्व दूध दिवस आज नेपाल डेरी एसोसिएसनले केन्द्र र प्रदेश स्तरमा विभिन्न कार्यक्रमहरु गरि भव्य रुपमा देशैभर सम्पन्न गर्‍यो।

कोशी प्रदेशमा सबै सरोकारवालाहरुसंग सहकार्य गरि प्रभातफेरी कार्यक्रम गरियो । डिडिसी बिराटनगर शाखाको आयोजनामा कृषि तथा सहकारी मन्त्रालयका मन्त्री माननिय भक्ति प्रसाद सिटौलाज्यू, विशिष्ट अतिथि उद्योग ग कृषि तथा सहकारी मन्त्रालयका सचिव तथा डेरी उधोगीहरुका प्रतिनिधिहरु, कृषक तथा दुग्ध सहकारीका प्रतिनिधिहरूको बाक्लो उपस्थितिमा अशक्त अपाङ्ग समाज कन्काइ नगरपालिमा विभिन्न खाद्य सामग्री हस्तान्तरण गरि मनाईयो ।

मधेश प्रदेशमा मलङ्ग्वा, सर्लाही को भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र तथा मधेश प्रदेश दुग्ध विकास बोर्डद्वारा आयोजित विश्व दूध दिवस २०८० मा मधेश प्रदेशको हालको माननीय कृषी मन्त्री बुवा गोबिन्द बहादुर न्यौपानेज्यूको प्रमूख आतिथ्यतामा दुध तथा दुग्ध पदार्थ वितरण र सेवनका फाईदाहरुको चर्चा गरि मनाईयो ।

केन्द्रिय स्तरको कार्यक्रममा बागमति प्रदेशको आयोजनामा विभिन्न कार्यक्रम आयोजना गरी मनाइयो । राष्ट्रिय दुग्ध विकास बोर्डको संयोजकत्वमा सरोकारवाला निकाय सबैले विश्व दूध दिवसका अवसरमा विभिन्न कार्यक्रम गरियो । यसैगरी हाँडीगाउँ स्थित सेन्ट जर्ज स्कुलमा केन्द्रिय दुग्ध सहकारी संघका अध्यक्ष अमर बहादुर कुँवरको विशेष उपस्थितिमा करिब ३५० जना विद्यार्थीहरुलाई दुध पान गराइयो । कार्यक्रममा नेपाल डेरी एसोसिएसनले केन्द्रिय अध्यक्ष प्रल्हाद दाहाल, उपाध्यक्ष दिप प्रसाद धमला, सह–कोषाध्यक्ष रामभक्त दाहाल, सदस्यहरु रविशरण थापा, कोशी प्रदेशका अध्यक्ष गंगा खड्का, बागमतीका अध्यक्ष टीका प्रसाद घिमिरे,अनाजका अध्यक्ष किरण आचार्य, कागेश्वरी दुग्ध उत्पादन सहकारीका सचीव राजकुमार चौलागाईं, ललितपुरका हुद्दराज तिमल्सिना, एसोसिएसनका रबिन्द्र के.सि, सेन्ट जर्ज स्कुलका प्र.अ मेघराज बजगाईं, विद्यालयका शिक्षकहरुको उपस्थिति रहेको थियो । नेपाल डेरी एसोसिएसनका अध्यक्ष प्रल्हाद दाहाले विश्वमा दुग्ध क्षेत्रले पोषण तथा खाद्य सुरक्षण एवं जीविकोपार्जनमा पुर्याएको योगदानको कदर गर्दै दूधको उपभोगमा वृद्धि गर्न संयुक्त राष्ट्रसङ्घको खाद्य तथा कृषि सङ्गठन (एफएओ) ले सन् २००१ जुन १ देखि विश्व दूध दिवस मनाउन थालिएको हो । आम जनताबीच दूधको उपभोग गर्न चेतना फैलाउने उद्देश्यले नेपालले पनि सन् २०११ देखि विश्व दूध दिवस मनाउन थालेको जानकारी गराए । केन्द्रिय दुग्ध सहकारी संघका अध्यक्ष अमर बहादुर कुँवरले दैनिक गुणस्तरीय दूध पिउन चेतना जगाउने, पोषणयुक्त दूध तथा दुग्ध पदार्थको उपभोग वृद्धि गर्न प्रचार–प्रसार गर्ने, दूध तथा दुग्ध पदार्थको गुणस्तर कायम गर्न चेतना जगाउने र दूध तथा दुग्ध पदार्थको उपभोगमा सबैको पहुँच पुर्याउन पहल गर्ने उद्देश्यले हरेक वर्ष दुधसँग सरोकार राख्ने सबैले विविध कार्यक्रम गरि यो दिवस मनाउने गरिएको कुरा बताए । नेपाल डेरी एसोसिएसनका उपाध्यक्ष दिप प्रसाद धमलाले उपस्थिति सबैलाई धन्यवाद दिंदै यस्ता कार्यक्रमहरु विद्यालयमा गर्दा त्यसले उदेश्य प्राप्ति गर्न सहयोग पुग्ने कुरा बताए । अन्त्यमा विद्यालयका प्र.अ मेघराज बजगाईले यस्तो महत्त्वपूर्ण दुध सम्बन्धि जानकारी गराउँदै कार्यक्रम गरेकोमा नेपाल डेरी एसोसिएसन परिवारलाई विशेष धन्यवाद दिनु भयो ।

बागमति प्रदेशको मकवानपुर जिल्ला समितिका अध्यक्ष राजु श्रेष्ठज्यूको संयोजकत्वमा आयोजनामा बालज्योति मकवानपुरका दृष्टि विहीन बालबालिकाहरुलाई दुध तथा दुग्ध पदार्थ वितरण गरि मनाईयो ।

गण्डकी प्रदेशमा प्रदेश अध्यक्ष हिवहरी आचार्यज्यूको संयोजकत्वमा आज विश्व दूध दिवसको अबसरमा कास्की दूध व्यवसायी संघद्वारा डेरी व्यवसायी साथी धर्मराज अधिकारीको मृगौला रोगको उपचारको लागि सहयोगी डेरी व्यवसायी साथिहरुबाट संकलन गरिएको रु २६६८० नगद उहाँकै हातमा हस्तान्तरण गरि स्वास्थ लाभको कामना गरियो ।

नेपाल डेरी एसोसिएसन लुम्बिनी प्रदेशको आयोजनामा रूपन्देहीको लुम्विनी अञ्चल अस्पतालमा भव्यताका साथ संपन्न गरियो । उक्त कार्यक्रममा अस्पतालमा रहेका विरामीहरुलाई दुध तथा दुग्ध पदार्थ खुवाई भव्यताका साथ मनाईयो । कार्यक्रममा अस्पतालका सुपरिटेन्डेन्टज्यूको प्रमूख आतिथ्यतामा एसोसिएशनका कोषध्यक्ष दयाराम भण्डारी, सहसचिव शिव भुषाल, प्रदेश अध्यक्ष थानेश्वर न्यौपाने लगायत देवदहका पूर्व मेयर एवं एसोसिएसनका सल्लाहकार हिरा के.सी सहित दुग्ध उद्योगीहरुको सहभागीता रहेको थियो ।

सबैभन्दा पौष्टिक तत्व दुध पिउँ, स्वस्थ रहौ भन्ने कुलाई सार्थकता दिन सुदुश्चिम प्रदेशमा केन्द्रिय सल्लाहकार भुपेन्द्र थापाको संयोजकत्वमा, एसोसिएसनका उपाध्यक्ष लगायत डेरी उद्योगीहरुको उपस्थितिमा पशु तथा मत्स्य विकास निर्देशनालयको सहभागीतामा दुध तथा दुग्ध पदार्थ सेवन गर्न चर्चा परिचर्चा गरि मनाईयो भन्ने कुराको जानकारी महासचिव हेमचन्द्र खनालले दिए ।

यसरी देशैभर नेपाल डेरी एसोसिएसन मातहतका निकायले विभिन्न कार्यक्रम गरि मनाएकोमा केन्द्रिय अध्यक्ष प्रल्हाद दाहालले सबैलाई विशेष धन्यवाद दिए भने विश्व दुध दिवसकै उपलक्ष्यमा राष्ट्रिय दुग्ध विकास बोर्डबाट माननीय कृषि तथा पशुपन्छी विकास मन्त्रीले नेपाल डेरी एसोसिएसन कोशी प्रदेशका अध्यक्ष गगा बहादुर खड्कालाई सम्मान गरेकोमा खुशी ब्यक्त गर्दै शुभकामना दिए । आगामी दिनमा पनि यस्ता कार्यक्रमहरु गरि दुध दिवसलाई देशैभर मनाउन आफू मातहतका सबैलाई आव्हान गर्ने बताए । सरकारले राष्ट्रिय दुग्ध विकास बोर्ड हटाउने भनी गरेको निर्णयको एसोसिएसनले असहमति जनाउने कुरा बताउँदै यदि फिर्ता नलिए सरोकारवालाहरुलाई साथमा लिई आन्दोलनमा जान समेत सक्ने कुरा पनि बताए । आशा छ सरकारले सरोकारवालाहरुको कुरा बुझी बोर्ड हटाउने निर्णय फिर्ता लिने कुरामा आफुले विश्वास लिएको अध्यक्ष दाहालले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय