काठमाडौं । नेपाली कांग्रेसले सरकारमा पठाउने ८ जना मन्त्रीको नाम करिब टुंग्याएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बुधबारसम्म मन्त्रिपरिषद विस्तार गर्न तयारी थालेपछि कांग्रेसले पनि मन्त्रीको नाम करिब–करिब टुङ्गो लगाएको हो

सोमबार प्रधानमन्त्री प्रचण्डले कांग्रेसले ८, माओवादीले ५, जसपाले २, एकीकृत समाजवादीले २, लोसपा, जनमत र नागरिक उन्मुक्ति पार्टीले १–१ मन्त्रालय पाउने गरी प्रस्ताव राखेका थिए । बाँकी एक मन्त्रालय स्वतन्त्र सांसदका लागि छुट्याउने प्रधानमन्त्रीको प्रस्ताव छ ।

तर, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले कम्तीमा ३ मन्त्रालयको अडान छाडेका छैनन् । आफ्नो पार्टीले राष्ट्रपति, उपराष्ट्रपति, सभामुख, उपसभामुखलगायतका कुनै पनि पद नपाएका भन्दै तीन मन्त्रालयमा एकीकृत समाजवादीको सशक्त दाबी छ । प्रधानमन्त्री प्रचण्डले देउवालाई कांग्रेसले पाउने सक्ने आठ वटा मन्त्रालय पनि सुनाएका थिए ।

कांग्रेसका एक पदाधिकारीका अनुसार अर्थ, परराष्ट्र, रक्षा, स्वास्थ्य तथा जनसङ्ख्या, उद्योग वाणिज्य तथा आपूर्ति, कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय, भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण र बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय कांग्रेसले पाउने सम्भावना छ । तर, सभापति देउवाले भौतिक पूर्वाधार तथा यातायात, सहरी विकास र ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमध्ये एउटामा दाबी राखेका छन् ।

माओवादी केन्द्रले गृह मन्त्रालय पाउने भएपछि देउवाको मुख्य ध्यान भौतिकमा छ । केन्द्रीय कार्यसम्पादन समिति बैठक रोकेर सभापति देउवा मन्त्रीको टुङ्गो लगाउन जुटेका हुन् । उनले सोमबार महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मासँग छलफल गरेका थिए ।

यस्तै, उनले सोमबारै मन्त्रीको सूचीमा समेटिएकाहरुसँग पनि एक्ला एक्लै छलफल गरेका थिए । मंगलबार बिहान उपसभापति पूर्णबहादुर खड्का र प्रवक्ता प्रकाशशरण महतसँग लामो संवाद गरेको धुम्बाराही स्रोतले रातोपाटीलाई बतायो ।

आठ मन्त्रालयमध्ये ६ वटामा आफ्नो समूहभित्रबाट मन्त्री बनाउने देउवाको तयारी छ । उपसभापति पूर्णबहादुर खड्काको नेतृत्वमा कांग्रेस सरकारको सहभागी हुनेछ । अर्थमन्त्रीमा डा. प्रकाशशरण महतलाई पठाउने देउवाको योजना छ ।

कांग्रेसका एक पदाधिकारीका अनुसार एनपी साउद, रमेश रिजाल, सीता गुरुङ सभापति देउवाका पहिलो प्राथमिकतामा छन् । नेता प्रकाशमानसिंह र शशांक कोइरालामध्येको सिफारिसमा एकजना मन्त्री बन्ने सम्भावना छ ।

सिंहले राजन केसी र कोइरालाले दीपक खड्कालाई मन्त्री बनाउन चाहेको देखिन्छ । अर्थमन्त्री नपाउने भएपछि विनोद चौधरी र उदयशम्शेर राणाले परराष्ट्र मन्त्रीका लागि लबिङ थालेको देखिन्छ ।

यता शेखर–गगन समूहलाई २ मन्त्रालय दिने मनस्थिति देउवाको छ । शेखर–गगनको दाबी तीन मन्त्रालयमा छ । धनराज गुरुङ र डिकबहादुर लिम्बूलाई मन्त्री बनाउने शेखरको तयारी छ । महामन्त्री गगन थापा र अर्का महामन्त्री विश्वप्रकाश शर्मा भने जीवन परियार, बद्री पाण्डे र प्रदीप पौडेलमध्ये एक जनालाई मन्त्री बनाउन चाहन्छन् ।

देउवाले अहिलेसम्म एउटा मुड बनाएको देखिएपनि अन्य नेताहरूको पनि दबाब भने चर्को छ । सहमहामन्त्री किशोरसिंह राठौर, नेताहरू मोहन बस्नेत, शंकर भण्डारी, उदयशम्शेर राणा, श्याम घिमिरे, वीरबहादुर बलायरले पनि आ–आफ्नोतर्फबाट दबाब बढाएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय