प्रदेशसभाले प्रदेश १ को नाम ‘कोसी’ राखेको विरोधमा पहिचान पक्षधरहरूले आयोजना गरेको प्रदर्शनका क्रममा सशस्त्र प्रहरीकोलाठीबाट घाइते भएका एकजनाको मृत्यु भएको छ। बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको सघन उपचार कक्ष (आइसियु) मा उपचारका क्रममा बिहीबार राति अढाइ बजे धरान–१५ का पदम लिम्बु (लाजेहाङ) को मृत्यु भएको हो।
यही चैत ५ गते मुख्यमन्त्री कार्यालय र प्रदेशसभा घेराउका क्रममा निषेधित क्षेत्रमा प्रवेश गरेका लिम्बु सशस्त्र प्रहरीको लाठी प्रहारबाटघाइते भएका थिए। उनको टाउकोमा गम्भीर चोट लागेको थियो। टाउकोमा लागेको चोटको असर स्वास्थ्यमा देखिन थालेपछि लिम्बू दुईदिनअघि उपचारका लागि प्रतिष्ठानमा भर्ना भएका थिए। बेहोस अवस्थामा रहेका लिम्बूलाई थप उपचारका लागि शुक्रबार एअरएम्बुलेन्सबाट काठमाडौं लैजाने तयारी भइरहेकोमा बिहीबार राति नै उनको मृत्यु भएको आन्दोलनरत पक्षले जनाएको छ। लिम्बूको शवप्रतिष्ठानको मर्चरीमा राखिएको छ। उनी संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च सम्बद्ध संघीय लिम्बुवान मञ्चका लिम्बुवान भोलेन्टियरकोकेन्द्रीय सहकमान्डर थिए। उनको मृत्युले पहिचानको आन्दोलनमा ठुलो क्षति पुगेको मञ्चका सुनसरी जिल्ला अध्यक्ष अमर इजमलेबताए।

लिम्बूलाई राज्यले राष्ट्रिय सहिद घोषणा गर्नुपर्ने र पीडित परिवारलाई उचित क्षतिपूर्ति दिनुपर्ने पनि माग आन्दोलनरत पक्षको छ। मागपूरा नभएसम्म लिम्बुको शव नबुझ्ने आन्दोलनरत पक्षले जनाएको छ। प्रदेश १ को नाम कोसी राखिएपछि पहिचान पक्षधरहरू उक्त नामखारेज गर्नुपर्ने मागसहित आन्दोलनमा छन्।
