काठमाडौँ — स्वतन्त्र विद्यार्थी युनियन निर्वाचनमा त्रिभुवन विश्वविद्यालयका ३४ आंगिक क्याम्पसको नतिजा आएको छ । केन्द्रीय निर्वाचन समितिका अनुसार सोमबार साँझसम्म १५ क्याम्पसमा एमालेनिकट अनेरास्ववियु र १४ मा कांग्रेसनिकट नेविसंघका उम्मेदवार स्ववियु अध्यक्षमा विजयी भएका छन् । अखिल क्रान्तिकारीका उम्मेदवार काठमाडौंका दुई र बाहिरका दुई गरी ४ क्याम्पसको अध्यक्षमा निर्वाचित भए ।

जनमत पार्टीनिकट विद्यार्थी संगठनले सिरहास्थित सत्यनारायण सूर्यनारायण क्याम्पसको अध्यक्ष र सचिवसहित प्यानल नै जितेको छ । अधिकांश क्याम्पसमा भने अनेरास्ववियु, नेविसंघ र क्रान्तिकारीका उम्मेदवार सचिव, कोषाध्यक्षलगायत सदस्य मिश्रित रूपमा निर्वाचित भएका छन् । ६२ आंगिकमध्ये काठमाडौंका १५ र बाहिरका २६ गरी ४१ क्याम्पसमा मतदान सम्पन्न भएको थियो । उपत्यकमा २२ र जिल्लामा ४० आंगिक क्याम्पस रहेका छन् ।

निर्वाचन भएका केही क्याम्पसमा मतगणना जारी र केहीमा विवादले स्थगित गरिएको छ । मतगणनाको परिणाम जिल्ला/जिल्लाबाट आउने क्रम जारी रहेको समितिका सदस्य सचिव पशुपति अधिकारीले जानकारी दिए । करिब ५ सामुदायिकमध्ये अधिकांशमा निर्वाचन भएको थियो । समानुपातिकतर्फबाट उपाध्यक्ष, सहसचिवसहित ५० प्रतिशत सदस्य निर्वाचित गर्न एक साताको समय दिएकाले सामुदायिक क्याम्पसले स्ववियु निर्वाचनको नतिजा केन्द्रमा पठाएका छैनन् ।

अनेरास्ववियुले आंगिकतर्फ काठमाडौंबाहिरका ९ र भित्रका ६ क्याम्पसमा स्ववियु अध्यक्ष जितेको छ । अनेरास्ववियुबाट महाराजगन्ज नर्सिङमा अध्यक्षमा नोविना बस्नेत निर्वाचित भएको क्याम्पसले जनाएको छ । ललितकला क्याम्पसको अध्यक्षमा सुजन श्रेष्ठ, जनप्रशासनमा अग्र शाही निर्वाचित भएका हुन् । महेन्द्ररत्न ताहाचलमा ईश्वरकुमार थापा, पुल्चोक इन्जिनियरिङमा विराज अर्याल, विराटनगर नर्सिङ क्याम्पसमा प्रशंसा पौडेल, महेन्द्ररत्न बहुमुखी इलाममा दर्शन राई अध्यक्ष चयन भएका छन् । त्यस्तै, डिग्री क्याम्पस विराटनगरमा निर्मल गजुरेल, गौरादह कृषि क्याम्पस झापामा विक्रम तिवारी, लमजुङ क्याम्पसमा वीरेन्द्र जीसी, बुटवल क्याम्पसमा दुर्गाबहादुर एमसी, नर्सिङ वीरगन्जमा मनीषा चौधरी, धनकुटा क्याम्पसमा सन्तोष बुढाथोकी र भोजपुर बहुमुखी क्याम्पसमा निशान राई अध्यक्षमा निर्वाचित भएका छन् ।

नेविसंघले उपत्यकाबाहिर र भित्रका ७/७ आंगिक क्याम्पसको अध्यक्षमा विजय हासिल गरेको छ । भक्तपुर बहुमुखी क्याम्पसमा पुकार पराजुली, पब्लिक युथ क्याम्पसमा नवीन पाण्डे, सरस्वती क्याम्पसमा मुस्काराज गौतम, शंकरदेवमा सुशान्त सिंह बस्नेत बिजयी भएका छन् । त्यस्तै, पद्यकन्याको अध्यक्षमा ज्योति पनेरु, थापाथली इन्जिनियरिङमा पुष्करविक्रम शाही, केन्द्रीय क्याम्पस कीर्तिपुरमा श्यामराज ओझा निर्वाचित भए । काठमाडौंबाहिर रामस्वरूप रामसागर क्याम्पसमा मनीषकुमार यादव, वन विज्ञान हेटौंडामा दीपेन्द्र कँडेल, डडेलधुरामा दुर्गाप्रसाद भट्ट, जुम्ला शिक्षामा महेश हमाल, त्रिभुवन क्याम्पस पाल्पामा कृष्ण अर्याल विजयी भए । केही क्याम्पसमा नेविसंघ र क्रान्तिकारीसहित सत्तारूढ विद्यार्थीबीच तालमेल भएको थियो । पूर्वाञ्चल धरानको अध्यक्षमा नवीन श्रेष्ठ र तेह्रधुम क्याम्पस अध्यक्षमा नेविसंघका ताराप्रसाद दाहाल विजयी भएका छन् ।

क्रान्तिकारीबाट नेपाल ल क्याम्पसमा विष्णु ढुंगेल र सानोठिमी क्याम्पसमा रेशमलाल श्रेष्ठ निर्वाचित भएका छन् । नर्सिङ क्याम्पस नेपालगन्जमा क्रान्तिकारीकी दीपिका सोनी विजयी भइन् भने गोरखा क्याम्पसमा विष्णु पाण्डे निर्विरोध चयन भए । राजविराजस्थित महेन्द्र विन्द्रेश्वरी र डोटी क्याम्पसमा मतगणनामा अवरोधका कारण स्थगित भएको सदस्य सचिव अधिकारीले जनाए ।

सबैभन्दा धेरै विद्यार्थी रहेको पोखराको पृथ्वीनारायण र वीरगन्जको ठाकुरराम बहुमुखी क्याम्पसको स्ववियु निर्वाचन अनिश्चित छ । ठाकुरराममा आगजनी र तोडफोड भएपछि रोकिएको हो । पृथ्वीनारायणमा पुनरावेदन अदालतले प्रक्रिया अघि नबढाउन अन्तरिम आदेश दिएको छ । यहाँ १० हजारभन्दा बढी मतदाता छन् । काठमाडौंको त्रिचन्द्रले चैत ९ गते निर्वाचन गर्ने तयारी अघि बढाएको छ भने आयुर्वेद कीर्तिपुरले १७ गते निर्वाचन घोषणा गरेको छ । अस्कल र नेपाल कमर्स क्याम्पसमा उम्मेदवारी दर्तापछि प्रक्रिया रोकिएको थियो । विश्वभाषामा निर्वाचन समितिका पदाधिकारीले राजीनामा दिएकाले रोकिएको हो । रत्न राज्यलक्ष्मीमा अन्तिम नामवलीमा विवादका कारण रोकिएको क्याम्पसले जनाएको छ । पाटन क्याम्पसमा पनि उम्मेदवारी दर्ता विवादले स्थगित गरिएको छ । निर्वाचन रोकिएका क्याम्पसमा प्रक्रिया अघि बढाउन निर्देशन दिइएको सदस्य सचिव अधिकारीले बताए ।।

वीरेन्द्र बहुमुखी क्याम्पस, कृषि क्याम्पस खैरहनीमा विद्यार्थीको तालाबन्दीका कारण निर्वाचन हुन नसकेको क्याम्पस प्रशासनले जनाएको छ । चितवन र पश्चिमाञ्चल इन्जिनियरिङको निर्वाचन पनि अनिश्चित छ । महेन्द्रनगरस्थित सिद्धनाथ विज्ञान, बागलुङको धौलागिरि, वनविज्ञान पोखरामा पनि रोकिएको छ । अनेरास्ववियु, नेविसंघ र अखिल क्रान्तिकारीलगायत ठूला विद्यार्थी संगठनको अवरोधले यी क्याम्पसको निर्वाचन रोकिएको निर्वाचन अनुगमन समितिका एक सदस्यले बताए । महेन्द्र बहुमुखी नेपालगन्ज, महेन्द्र बहुमुखी दाङ, भैरहवा क्याम्पस र पक्लिहवा क्याम्पसले बुधबार निर्वाचन गर्ने जनाएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय