काठमाडौँ — नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ (चौधरी)ले आफ्नो पार्टीको माग सम्बोधन नभएसम्म संघ वा प्रदेशको कुनैपनि सरकारमा सहभागी नहुने बताएकी छिन् ।
सरकारलाई समर्थन गरेको नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष श्रेष्ठले रेशम चौधरीलगायतका टीकापुर घटनाका बन्दीहरूलाई रिहाइनगरेसम्म संघ र प्रदेशको कुनै पनि सरकारमा आफ्नो पार्टी सहभागी नहुने अडान कायमै रहेको बताएकी हुन् ।
शनिबार बुटवलमा आयोजित एक कार्यक्रमपछि सञ्चारकर्मीहरूले राखेका जिज्ञासाको जवाफ दिने क्रममा उनले सरकारले आफूहरूकोमाग सम्बोधन गर्ने भनेकाले त्यो पूरा भएपछि मात्रै सरकारमा जान आफूहरू प्रतिबद्ध रहेको बताइन् । आफ्नो पार्टीको माग र मुद्दासम्बोधन नभएसम्म सुदूरपश्चिम प्रदेश सरकारलाई विश्वासको मत दिने पक्षमा आफ्नो पार्टी नरहेको पनि अध्यक्ष श्रेष्ठको प्रस्टीकरणथियो ।

‘जबसम्म नागरिक उन्मुक्ति पार्टीको माग, मुद्दा सरकारले सम्बोधन गर्दैन । तबसम्म हामी प्रतिपक्ष बेञ्चमै बस्नेछौं । सुदूरपश्चिम प्रदेशमाहामीले मुख्यमन्त्रीलाई चाहिँ समर्थन गरेका छौँ । र, विश्वासको मत दिनुभन्दा अगाडि सरकारले हाम्रो माग, मुद्दा सम्बोधन गरोस भन्नेहाम्रो पार्टीको चाहना पनि रहेको छ । हाम्रा मागहरू टीकापुरका राजबन्दीहरूलाई रिहाइ गर्ने सरकारले भनिरहेको छ । र, हामीले पनियही कुरामा अडान लिएका छौं । टीकापुरका निर्दोष थारुहरुलाई रिहाइ गर्नुस् । हामी सरकारमा जान्छौं भनिरहेका छौं । सुदूरपश्चिमसरकारलाई पनि हाम्रो माग मुद्दा सम्बोधन भएपछि मात्रै विश्वासको मत दिन्छौं भन्ने हाम्रो कुरा हो । त्यसो भएन भने हामी बैठक बसेरआवश्यक निर्णय गर्छौं । आफूहरूको माग सम्बोधन नभई हामी संघ र प्रदेश कुनै पनि ठाउँमा सरकारमा जाने पक्षमा छैनौं,’ उनले भनिन् ।
अध्यक्ष श्रेष्ठले टीकापुर घटनामा निर्दोष रहेका आफ्ना पार्टीका नेता, कार्यकर्ताहरूलाई जेलमुक्त गर्ने काममा ढिलाइ नगर्न पनिसरकारलाई आग्रह गरिन् ।
