व्यवसाय र राजनीतिमा चरम निराश बनेर मंगलबार अपराह्न काठमाडौँस्थित संघीय संसद् भवनअघि आत्मदाह गरेका इलामको सूर्योदयनगरपालिका ११ का ३७ वर्षे प्रेमप्रसाद आचार्यको शव पोस्टमार्टमका लागि शिक्षण अस्पताल लगिँदै छ।
केही बेर अघि गृहमन्त्री रवि लामिछाने आचार्यको निधन भएको कीर्तिपुरस्थित बर्न अस्पताल पुगेका थिए। प्रेमका साथी नवीन भट्टराईकाअनुसार गृहमन्त्री लामिछानेले शोकाकुल परिवारलाई केही ‘आश्वासन’ दिएका छन्। तर, उनले के आश्वासन दिए भन्नेबारे खुलेको छैन।

गृहमन्त्रीको आश्वासनपछि आचार्यको शव अहिले पोस्टमार्टमका लागि शिक्षक अस्पताल लगिने भएको हो।
पोस्टमार्टमपछि दाहसंस्कार गरिने भट्टराईले जानकारी दिए। ‘दाहसंस्कार पशुपति आर्यघाटमा गर्ने कि उनको शव इलाम लैजाने भन्नेपनि यकिन भइसकेको छैन,’ भट्टराईले भने, ‘पोस्टमार्टम सकिएपछि मात्र सबै टुंगो हुन्छ।’ मृतक आचार्यकी पत्नी नानुका अधिकारी(आचार्य) र दाजु रमेश बर्न अस्पताल पुगेपछि उनको शव पोस्टमार्टममा लैजाने तयारी गरिएको हो।
आचार्यले मंगलबार अपराह्न संसद् भवनअघि शरीरमा पेट्रोलियम खन्याएर आगो लगाइ आत्मदाह गरेका थिए। संसद्भित्र प्रधानमन्त्रीपुष्पकमल दाहाल सम्बोधन गरेर ढोकाबाट बाहिर निस्के लगत्तै आचार्यले शरीरमा आगो लगाएका थिए। गम्भीर घाइते उनलाई अस्पताललगेर उपचार गरिएको थियो।
स्वास्थ्य राज्यमन्त्री डा.तोसिमा कार्कीले गए राति घाइते आचार्य भेट्दा आचार्यले ‘रवि सर (गृहमन्त्री रवि लामिछाने) लाई पनि भनिदिनू’ भनेका थिए। उपचार क्रममा आचार्यको आज (बुधबार) बिहान साढे ५ बजे निधन भएको हो।
आचार्यले आफू व्यवसायमा असफल भएको र राजनीतिमा चरम बेथिति रहेको भन्दै ६ हजार ५ सयभन्दा बढी शब्दको ‘सुसाइड नोट’ सामाजिक सञ्जालमै राखेका छन्।
