शैलुङ : धार्मिक तथा पर्यटकीय दृष्टिकोणले अन्तर्राष्ट्रिय स्तरमा परिचीत स्थलको नाउँ हो । पुर्वप्रधानमन्त्री तथा नेकपा (एमाले ) का अध्यक्ष केपी शर्मा ओलीको उपस्तिथिमा केहि साता अघि शैलुङ साहित्यिक महोत्सव मार्फत विश्वभर चर्चा पाएको तथा नेपालकै उत्कृष्ट स्थानीय तहको रूपमा परिचय पाएको शैलुङले फेरि एकपटक राष्ट्रिय स्तरमा नै व्यापक चर्चा बटुलेको छ । गत चैत्र १२ शैलुङको लागि मात्रै होइन समग्र राष्ट्रकै लागि ऐतिहासिक रह्यो त्यो हो “तेक्वान्दोकाे अन्तर्राष्ट्रिय उच्च उचाइ तालिम तथा अनुसन्धान केन्द्र” शैलुङमा निर्माणको शिलान्यास हुनु । यसोत शैलुङ गाउँपालिका अध्यक्ष भरत प्रसाद दुलाल शैलुङलाई धार्मिक पर्यटन एवं खेलकुद मार्फत चिनाउन नेतृत्वमा आएदेखी नै क्रियाशिल हुनुहुन्छ । उहाँकै कार्यकालमा देशकै सबैभन्दा ठुलो आलु चिस्यान केन्द्रको निर्माण गरेका दुलाल स्वास्थ्य, शिक्षा, कृषि, पर्यटन, खेलकुद, भौतिक निर्माण, पर्यावरणीय सुरक्षा लगायत थुप्रै क्षेत्रहरूमा शैलुङलाई नमुना बनाउन प्रयासरत हुनुहुन्छ ।
२०७८ चैत १२ गते शैलुङ गाउँपालिका दाेलखाकाे कालापानीमा युवा तथा खेलकुद मन्त्रालयका सचिव डा. दामोदर रेग्मीले शिलान्यास गर्नुभयो। ३ वर्ष अघि यो आयोजना निर्माणका लागि शैलुङ गाउँपालिका र नेपाल तेक्वान्दो संघ केन्द्र बीच सहमति भएको थियो तर काेराेना महामारीका कारण थप प्रक्रिया अघि बढ्न सकेको थिएन। २ वर्ष अघि नेपाल तेक्वान्दो संघ, अन्तर्राष्ट्रिय तेक्वान्दो संघका अध्यक्ष र शैलुङ गाउँपालिका बीच महत्त्वपूर्ण छलफल गरि निर्माण प्रक्रिया अघि बढाउने समझदारी भएको थियोे। डि.पि. आर. अनुसार कुल लागत २७ करोड हुने यो आयोजनाका लागि हाल नेपाल सरकारले १० करोड यही वर्ष विनियोजन गर्ने गरि स्रोत सुनिश्चित गरिएको छ र बाँकी रकम आगामी आ.व. मा थप्दै जाने समझदारी बनेको छ।
२८ सय मिटर उचाइमा निर्माण हुने यो तालिम तथा अनुसन्धान केन्द्र संसारमा बनेको थाेरै स्थान मध्ये १ हुनेछ। नेपाली तथा अन्तर्राष्ट्रिय खेलाडीहरुले प्रशिक्षण तालिम लिने महत्त्वपूर्ण ठाउँ हुनेछ। नेपाली खेल जगतकाे नयाँ गन्तव्य यो आयोजनाले शैलुङ गाउँपालिकालाई खेलकुद, पर्यटन, आर्थिक, सामाजिक, सांस्कृतिक क्षेत्रमा मुल प्रवाहमा तान्ने छ। समग्र दाेलखा, रामेछाप, सिन्धुपाल्चोक र काभ्रेपलान्चोक जिल्लालाई सकारात्मक दिशामा धकेल्नेछ।
शैलुङ गाउँपालिकाका गाैरवकाे आयोजनाकाे रुपमा ऐतिहासिक शिलान्यास समारोहमा खेलकुद मन्त्रालय, नेपाल तेक्वान्दो संघ केन्द्रका पदाधिकारीहरु, नेपाल तेक्वान्दो संघ वागमती प्रदेशका पदाधिकारीहरु, नेपाल तेक्वान्दो संघ जिल्ला कार्य समिति दाेलखा र सिन्धुपाल्चोकका पदाधिकारीहरु एवं शैलुङ गाउँपालिका परिवारकाे सक्रिय सहभागीतामा सम्पन्न भएको थियो। यसैगरी नेपाल तेक्वान्दो संघले अध्यक्ष दुलाललाई प्रशंसा पत्र प्रदान गर्दै सम्मान गरेको छ । शिलान्यासकै अवसरमा अध्यक्ष दुलाललाई सम्मान गरिएको हो ।
