बूढानीलकण्ठ नगरपालिका राजधानी काठमाडौको उत्तरी क्षेत्रमा रहेको ऐतिहासिक नगरपालिका हो । बूढानीलकण्ठ मन्दिर, चण्डेश्वर मन्दिर, रूद्रेश्वर, भद्रकाली, पञ्चकन्या, शिव, कृष्ण, वंगलामुखी जस्ता देवदेवीका मन्दिरहरू रहेको यो नगरपालिका विश्व मानचित्रमा २७ डिग्री ४३ मिनेट १९सेकेन्ड उत्तरी अक्षांशदेखि २७ डिग्री ४८ मिनेट ५० सेकेन्ड उत्तरी अक्षांश र ८५ डिग्री २० मिनेट ९ सेकेन्ड पूर्वी देशान्तरदेखि ८५ डिग्री २३ मिनेट २८ सेकेन्ड पूर्वी देशान्तरसम्म फैलिएको छ । यस नगरपालिकाको उचाइ समुन्द्री सतहदेखि १२८९ देखि २६९९ मिटरसम्म रहेको छ भने कुल क्षेत्रफल ३४.८० वर्ग किमि रहेको छ ।
नेपालको संविधान २०७२ अनुसार देश संघीयतामा प्रवेश गरिसकेपछि ०७४ सालको स्थानीय तहको निर्वाचनबाट नगर प्रमुखको रूपमा निर्वाचित सरल, सहज, ईमानदार नेतृत्वको रूपमा बुढानिलकण्ठ नगरपालिकाले कम्युनिस्ट नेता उद्धव खरेललाई पायो । खरेल जनताहरुबाट तिव्र रुचिमा पर्नुभयो । स्थानीय तहलाई स्वायत्त बनाउँदै विकासको जगहरु बसाल्नु अत्यन्तै चुनौतीपूर्ण काम थियो । नगरप्रमुख खरेलको लगाव – कार्यकुसलताकै कारण नगरपालिकाले छोटो अवधिमा नै नीतिगत तथा रणनीतिक योजना तयार गर्दै नगरपालिकालाई विकासको गतिमा दौडाउन क्रियाशिल भयो । भौतिक विकासको क्षेत्रमा पनि उल्लेख प्रगति गरिरहेको यो नगरपालिका नगरप्रमुख खरेलको स्वच्छन्द नेतृत्वकै कारण प्रगतिशील गतिमा अगाडि बढिरहेको छ ।
यो लेखमा भने नगर प्रमुख उद्धव खरेलको उच्च इच्छाशक्ति अनुरुप नगरपालिकामा निर्माण सम्पन्न भएका र निर्माण सम्पन्नताको क्रममा रहेका तिन ठूला पूर्वाधारहरुका बारेमा यहाँ चर्चा गरिएको छ। बूढानीलकण्ठ नगरपालिकाको शिक्षा, यातायात, खेलकुद र स्वास्थ्य क्षेत्रमा ऐतिहासिक भूमिका निर्वाह गर्ने यी पूर्वाधारहरुको विकासलाई उच्च प्राथमिकतामा राख्दै जनअपेक्षा पूरा गर्नु नगर प्रमुख खरेलको प्रमुख उत्तरदायित्व हो ।
यी हुन् : नगर प्रमुख खरेलको तीन फोकस पोइन्ट ।
१. धोवीखोला कोरिडोरको अवरोध र त्यसको समाधानमा नगर प्रमुखको पहल :
बुढानिलकण्ठ नगरपालिकाको दक्षिणि भेगमा रहेको पाथिभरा टोलबाट अहिले धोवीखोला कोरिडोरमा दिनहुँ सवारी साधनहरु गुड्ने गरेका छन। अहिलेको सहज अवस्था आउन सो स्थानले धेरै नै छलफल ,बैठक, विरोध र प्रदर्शन समेत देखेको र भोगेको छ। लामो समय देखि निर्माण भएर पश्चिम तर्फको पाटो कालोपत्रे भैसक्दा पनि सो स्थानमा रहेका डेढ दर्जन भन्दा बढी घर र त्यसमा आश्रित स्थानीयहरुको व्यवस्थापन हुन् नसक्दा पुर्व तर्फ निर्माण रोकिएको थियो। सो स्थानमा देखिएको अवरोध निकै ठुलो र व्यवस्थापनमा चुनौतीपूर्ण थियो, जसलाई समाधान गर्दै त्यहाँ जनतालाई व्यवस्थापन गर्न नगर प्रमुख खरेलले निकै ठुलो जोखिम मोलेका थिए। सो सडकमा पर्ने घरहरुको व्यवस्थापन र स्थानीयको मागलाई संबोधन गर्नका लागि प्रमुख खरेलको पहल र तत्कालिन प्रमुख सल्लाहकार तथा हाल रास्ट्रिय दलित आयोगका सदस्य सुन्दर पुर्कुटीको सक्रियतामा स्थानान्तरणको प्रक्रिया अगाडी बढाईएको थियो। सो क्षेत्रका स्थानीयहरुलाई वडा नं २ मा स्थानान्तरण गर्दै नगरपालिकाको महत्वपूर्ण पूर्वाधारको अवरोध हटाउन सफल बनेका प्रमुख खरेलले सो कार्यको लागि बजेट व्यवस्थापनमा समेत निर्णायक भूमिका निर्वाह गरेका थिए।
२. कपन ह्यान्डबल मैदान
बुढानिलकण्ठ नगरपालिकाको खेलकुद पूर्वाधारमा कपन ह्यान्डबल मैदान निकै महत्वपूर्ण र आवस्यक पूर्वाधारका रुपमा रहेको छ। धेरै वर्ष सम्म टुक्रे बजेट र कामचलाउ योजनामा रुम्म्लिरहेको सो मैदानलाई अन्तरास्ट्रिय मैदानका रुपमा विकास गर्नका लागि नगर प्रमुख खरेलको भूमिका निकै महत्वपूर्ण रहेको छ। विभिन्न समितिहरुका नाममा सो मैदानको उपयोग र स्वामित्व दावी गर्दै आएका सरोकारवाला पक्षहरु संगको पटक पटक छलफल पश्चात अन्तरास्ट्रिय स्तरको ह्यान्डबल ,७ ए साइड फुटवल मैदान र अन्य संरचना सहितको बृहत पूर्वाधार निर्माणको अवधारणा सारेका प्रमुख खरेलले नगरपालिका बाट नै बजेट व्यवस्थापन गर्ने प्रतिवादत्ता व्यक्त गर्दै निर्माण शुरु गराएका छन।
एक पटकको छलफलमा नेपाल ह्यान्ड बल संघका कार्यबाहक अध्यक्ष रामकृष्ण केसीले बजेट वारेमा राखेको जिज्ञाशामा जसरि पनि बजेट व्यवस्थापन गर्ने सार्वजनिक प्रतिवदत्ता ब्यक्त गरेका प्रमुख खरेलको पहलमा टेन्डर आव्हान भएर निर्माणाधीन रहेको सो मैदान आगामी दिनमा ह्यान्डबल खेलको केन्द्र बन्ने देखिन्छ। यो मैदान निर्माण शुरु भए संगै त्यही बाट उत्पादित रास्ट्रिय र अन्तरास्ट्रिय खेलाडीहरु र संघका पदाधिकारी तथा सदस्यहरु ( कतिपयलाई खेलको नियम र बलको आकार थाहा नभए पनि !) निकै उत्साहित बनेका छन।
३. बूढानिलकण्ठ नगर अस्पताल
बूढानिलकण्ठ नगरपालिकाको स्वास्थ्य क्षेत्र तर्फको महत्वपूर्ण पूर्वाधारका रुपमा रहेको बुढानिलकण्ठ नगर अस्पताल शुरुमा वडा नं ८ को लोकेश्वर मन्दिर क्षेत्रमा निर्माण गर्ने भन्दै केहि संरचना समेत निर्माण गरिएको थियो। नगरपालिकामा आएको ठुलो पूर्वाधार जसले ल्याने पनि जसरि आए पनि बन्नुपर्छ भन्दै स्थानीयहरुको विरोधका बावजुद पनि निर्माण शुरु भएको संरचना पहिरोमा परेर ध्वस्त बनेको थियो। भौगोलिक जटिलता र क्षेत्रफलको चुनौती देखिए संगै धेरैले बुढानिलकण्ठ नगर अस्पतालको निर्माणलाई परको योजनाका रुपमा ब्याख्या र विश्लेषण समेत गर्न भ्याएका थिए। तर पनि नगर प्रमुख खरेलले नगर अस्पतालको योजनालाई रोकेनन तर त्यसको स्थान परिवर्तन गर्दै वडा नं १० को डिठ्ठाचौरमा निर्माण प्रक्रिया अगाडी बढाएका छन। २५ सैयाको सो अस्पताल निर्माणको अन्तिम चरणमा पुगेको छ भने त्यहि परिसरमा निर्माण भएको क्वारेन्टाइन भवनमा अस्थायी ओपिडी सेवा समेत नियमित संचालन हुदै आएको छ।
