काठमाडौँ — प्रतिनिधिसभाको बारा निर्वाचन क्षेत्र नम्बर– २ मा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले जनता समाजवादी पार्टीकाउम्मेदवारलाई सघाउने भएको छ । जसपाले अध्यक्ष उपेन्द्र यादवलाई उम्मेवार बनाउने तयारी गरेको छ ।
लोसपाका अध्यक्ष महन्थ ठाकुरले उक्त निर्णय लिएका हुन् । बारा– २ को उपनिर्वाचनमा लोसपाका नेता राजेन्द्र महतो आकांक्षी थिए ।महतोले पार्टीले गठबन्धनका उम्मेदवारलाई सघाउने निर्णय गरेकाले आफू निर्वाचन नलड्ने कान्तिपुरलाई जानकारी दिए ।

बारा –२ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित रामसहायप्रसाद यादव उपराष्ट्रपति निर्वाचित भएपछि उपनिर्वाचन हुन लागेको हो । बारा– २ मा कांग्रेस, माओवादी केन्द्रलगायतका सत्तारुढ दलहरूले पनि यादवलाई नै सघाउने निर्णय गरिसकेका छन् । बारा– २ सहित चितवन– २ र तनहुँ– १ मा २०८० बैशाख १० गते उपनिर्वाचन हुँदैछ । निर्वाचनका लागि सोमबार मनोनयन दर्ता गर्ने चुनावी कार्यतालिका छ ।
