हरेक वर्षको दुई ऋतुमा सगरमाथा आरोहणका लागि बाटो तयार गर्ने गरिएकोमा यस वर्ष वसन्त ऋतुको लागि बाटो बनाउने काम सुरुभएको छ। गत शुक्रबारदेखी सुरु भएको यो अभियान १ महिनासम्म निरन्तर जारी रहने छ।
सगरमाथा आरोहणको बाटो (रुट) बनाउने जिम्मा पाएको निकाय सगरमाथा प्रदूषण नियन्त्रण समिति (एसपीसीसी) का अनुसार यसपटकको हिउँदमा पर्याप्त हिउँ नपरेको कारणले बाटो बनाउन कठिन देखिएको छ।
हिमनदी र हिउँ खाल्डा तथा खर्पसहरू धेरै रहेको दोस्रो शिविरसम्म हरेक वर्ष संरचना परिवर्तन भइरहनु बाटो बनाउनुपर्ने अर्को कारण हो, कार्यकारी प्रमुख शेर्पाले भने।

उनका अनुसार सगरमाथा आरोहणका लागि बाटो सुरक्षित बनाउन भर्याङ, डोरी लगायतका सामग्री प्रयोग गरिन्छन्। यो कार्य आईसफल डाक्टर (हिउँमा बाटो बनाउने मानिस) ले गर्दछन्। यस क्षेत्रमा बाटो बनाउन १० सदस्यीय टिम रहेका छन्। तीमध्ये आठ सदस्यीयअनुभवी आई सफल डाक्टरहरु यस ऋतुमा बाटो बनाउने कार्यका लागि खटिएका छन्।
पर्यटन विभागसँगको सहकार्यमा २०५४ सालदेखि एसपीसीसीले सगरमाथाको दोस्रो शिविरसम्म बाटो बनाउने काम गर्दै आइरहेको छ।एसपीसीसीले सगरमाथा आरोहण गर्न दोस्रो शिविरसम्म जाने बाटो तयार गरिसकेपछि सो भन्दा माथिको बाटो निर्माण गर्ने कार्य भनेआरोहण व्यवसायीहरूको संयोजनामा हुने कार्यकारी प्रमुख शेर्पाले बताए।
